श्रीलंकाको अवस्थालाई लिएर अमेरिकाले दियो कडा चेतावनी

हाम्रो सन्देश संवाददाता

२६ असार, काठमाडौं ।

अमेरिकाले आइतबार श्रीलंकाका नेताहरूलाई संकटको दीर्घकालीन समाधानका लागि छिटो कदम चाल्न अपील गरेको छ । शनिबार राष्ट्रपति गोटाबया राजापाक्षे आफ्नो सरकारी निवास छोड्न बाध्य भएका थिए र त्यसपछि उनले राजीनामाको घोषणा गरेका थिए ।

श्रीलंकामा शनिबार भएको घटनाक्रमपछि अमेरिकाको यस्तो सन्देश आएको हो । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हाल थाइल्याण्डको भ्रमणमा छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यस्ता परिस्थितिमा श्रीलंकाको संसदले कुनै राजनीतिक दलसँग होइन, देशको हितमा प्रतिबद्धताका साथ काम गर्नुपर्छ । हामी यो सरकार वा संवैधानिक रुपले छानिएको कुनै नयाँ सरकारसँग तीब्र रुपमा काम गर्न अपिल गर्छौँ ताकि संकटको हल खोज्न सकियोस् र त्यसको कार्यान्वयन गर्न सकियोस् ।

यसो गर्दा श्रीलंकामा लामो समयका लागि आर्थिक स्थिरता आउनेछ र बिग्रँदो आर्थिक स्थिति, खाना र इन्धनको कमीको विषयमा श्रीलङ्काका जनताको जुन असन्तोष छ, त्यसको हल निकाल्न सकिनेछ ।