अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

हाम्रो सन्देश संवाददाता

१७ असार, काठमाडौं ।

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु
मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो । सो अवधिमा भएका विपद्का घटनामा परेर २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए । यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

सो अवधिमा मधेसका जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिनुभयो । यस क्रममा रु २० करोड २७ लाख राजश्व सङ्कलन भएको छ ।

यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद् भएको प्रवक्ता कार्कीले बताउनुभयो । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारीलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हिरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।

सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट रु ४० करोड १४ लाख २६ हजार बराबरको अवैध समानसहित १९५ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिएका २७३ सवारीसाधनसहित ५६ जना र अवैध काठ तस्करीमा प्रयोग गरिएका ३६ सवारीसाधनसहित ३१ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीमाथि कारबाही

प्रहरी अनुशासनविपरीत कार्य गर्ने २३७ प्रहरीलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही गरेको छ । प्रदेशका विभिन्न जिल्लामा खटिएकामध्ये अनुशासनहीन कार्य गर्ने ती प्रहरीलाई कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृतसमेत गरिएको छ ।