मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादीको दबाब नगरे गठबन्धन छोड्ने चेतावनी

हाम्रो सन्देश संवाददाता

९ असार, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

सचिवालयको बैठकको निर्णयलाई नै लिएर अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित आयोजना भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको पनि बताइएको छ ।

अध्यक्ष नेपालले सचिवालयको बैठकअनुसार नै गठबन्धनको बैठकमा मन्त्री हेरफेरको प्रस्ताव राख्ने भनिएको छ ।

यसअघि नै एकीकृत समाजवादीले देउवा सरकारमा बहालवाला मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने प्रस्ताव बालुवाटार लगिसकेको छ

भने नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।

यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्न पनि यसअघि नै प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले निर्णय गरेको छ ।

न्यायाधीश र अधिवक्ताबीचको वार्ताबारे सत्य अनुसन्धान गर्न बारको माग
नेपाल बार एशोसिएशनले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न माग गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचमा तामाङलाई धरौटीमा छुटाउन गरेको वार्ताको सत्यतथ्य छानबिन गर्न माग बारले गरेको छ ।

बारका महासचिव अन्जिता खनालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एशोसिएशन सम्बन्धित नियमनकारी निकायसँग जोडदार माग गर्दछ ।”

बारले नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यको निन्दासमेत गरेको छ ।