संस्मरण : त्यो एक घण्टा – विपिन राई

हाम्रो सन्देश संवाददाता

–विपिन राई

हजारौ सपनाहरुलाई तिलान्जली दिएर एउटै मात्र सपना(पैसा कमाउने) पूरा गर्न मलाया छिरेको म केही परिबन्दमा परेर मलेसियाको अध्यागम विभाग जादै थिएँ । अनिवार्य हाजिर हुनुपर्ने फरमान जारी भएकोले मन उद्देलित थियो । भारी मनसँगै रंग नमिलेको सर्टपाईन्ट लगाएर हिडे एजेन्टको अफिस, जहाँ मेरो एक मात्र भरोसा टीकेको थियो । मलेसियाको भाषा कनिकुथि बुझ्ने म बबुरोलाई नियम कानुनको परिभाष त झनै टाढाको कुरो थियो । त्यसैले सरकारी कामकाजमा एजेन्ट अनिवार्य जस्तै बनिदिन्छ परदेशमा ।

अफिस पुग्दा भनेको समय भन्दा केहि ढिला भईसकेको थियो । तर, एजेन्ट त हामी भन्दा पनि सुस्तगतिमा कामको तयारी गरिरहेको रहेछ । भर्खरै खोलेको अफिस भएकोले होला असरल्ल सामानहरु त्यतिकै थिए । बिहान आएका एकाध पत्रिकाहरु टेबलमा त्यसै पल्टिरहेका थिए । एउटा टिपेर हेर्न लागेँ, समय बिताउनको लागि ।

एउटी सानी नानी अन्दाजी अढाई बर्षको हुँदी हो, हामी बसेको कोठामा आई । धकाउदै औला टोकेर कुनाकुनातिर लागी । मलाई भने कामकै टेन्सनले यताउती त्यति ध्यान दिएर हेर्न मन लागिरहेको थिएन । सधै साना नानीहरु भनेपछि खेल्न, जिस्किन मन पराउने म त्यसदिन भने त्यो सानी नानीलाई वास्तै नगरी बसिरहेँ । केहीबेरपछि हामी पुत्राजायाको बाटो लाग्यौ । गाडीमा ति सानी नानी मसँगै थिई । घरीघरी मतिर हेरेर हाँस्थिन् । म भने वास्तै नगरी अब के होला ? कसो होला ? भन्ने मात्र सोचिरहेँ ।

पुत्राजयाको विभिन्न शाखाहरुमा सोधपुछ गरेपछि बल्ल आफू जानुपर्ने ठाउँ पुगियो । एजेन्ट स्थानीय भएकोले मलेसियन भाषामा बोलेको खासै बुझिएन । तर, ‘उ त्याँ गएर पर्ख’ भनेको चाहि बुझेँ । मान्छेहरुको भिड छिचोल्दै एउटा कुनामा गएर बसेँ । पर्खिएको केहि बेरपछि अफिसमा खाजा खाने समय भएछ । सबै मान्छे बिस्तारै बिस्तारै बाहिरिन थाले । मलाई अब भने झन सकस हुन थाल्यो किनभने खाजा खाने समय पूरा एक घण्टाको हुनेछ र मेरो काम पूरा एक घण्टाको लागि पछाडी सर्नेछ । मलाई भने यति हतारो थियो की मिल्ने भए हाजिरीको लागि पनि अरु कसैलाई वारेसनामा दिएर फर्कन चाहन्थेँ ।
म कोठामा एक्लै कल्पनाको एउटा फल्टै संसारमा मस्त डुबिरहेको थिएँ । ‘काम त ढिला हुने भयो, के गर्ने ?’ एजेन्ट बाहिरबाट फत्फताउदै आयो । म के उत्तर दिन सक्थेँ र ! चुपचाप त्यतिकै टोलाईरहेँ । अघि नै बुबासँग बाहिर गएकी एजेन्टकी ति सानी छोरी पनि त्यहि आईपुगी, मुसुक्क मुस्कुराई ।
‘ह्वाट हेपेन टु यु म्यान ?’ त्यो सानी फुच्चीले मेरो नजिकै आएर कानमा फुस्फुसाई । मलाई अचम्म लाग्यो, अघिसम्म मलाई देखेर लजाएर भाग्ने त्यो सानी नानी अहिले मेरो नजिकै आएर कति न पाको मान्छेले जस्तो मलाई पश्न गरी । म अझै पनि बोल्ने अवस्थामा थिइन । म मुस्कुराएँ मात्र ।
‘ह्वाट हेपेन टु दीस म्यान पापा ?’ सानी नानीले आफ्नो बाबालाई कोट्याएर सोधी ।

‘डोन्ट से म्यान, कल मि अंकल’ मैले मुस्कुराउँदै त्यो सानी नानीलाई भनेँ । उसले हुन्छ को टाउको हल्लाई । त्यसपछि बोल्नको लागि उसलाई धक लाग्न छाडेछ । मेरो सबै कहानी सोध्न थाली । त्यो अढाई बर्षकी बच्चीले यति चासोको साथ मेरो बारेमा सोधेपछि मैले पनि उसको बारेमा नसोधी रहन सकिन । मैले उसको स्कुलबाट प्रश्न सुरु गरेँ । उसको त अहिले स्कुल जाने उमेरै पो नभएको रहेछ । उसको आमाको कुनै दुर्घटनामा हात भाँच्चिएकोले उसलाई हेर्न घरमा कोहि नभएकोले बुबासँग अफिस आएकी रहिछ । उ मसँग खुब गफिन थाली । स्कुलको कुनै कक्षा नलिएपछि घरायसी प्रयोगले होला अंग्रेजी राम्रो बोल्ने भईसकेकी रहिछ ।
मनभरीको पीडामा त्यो एक घण्टा कसरी बिताउने भन्ने सोची रहेको म एक्कासी त्यो सानी नानीसँगको गफले हलुँगो महसुस गर्न थालेँ । त्यो सानो नानीले ठूलो आवाजमा बोल्दै हाँसेको देखेर धेरै पीडा कम हुन थालिसकेको थियो । एक घण्टाभरीमा उ आफैपनि एक पटक उसको बुबासँग खाजा खाएर आई । उसलाई चकलेट र केक खुव भनपर्ने रहेछ । तर, उसको बुबाले त्यहि कुराचाहि खान नदिदो रहेछ । म गाडीमा हुँदा पनि भोक लागेर बाटोमा किनेको केक थोरै त्यो सानी नानीलाई दिउँ कि भनेर सोध्दा उसको बुबाले नदिन भनेको थियो ।

पीडाहरु कम हुन थालेपछि म पनि उसको सिको गर्दै अलि ठुलो स्वरमा बोल्ने र हाँस्ने गर्न थाली सकेको थिएँ । उसको बाबालाई भने डिस्टर्व हुदो हो क्यारे घरीघरी छोरीलाई काखमा राखेर हल्ला नगरी बस्न उर्दी जारी गर्थ्यो । तर, छोरी के मान्थी । एकछिनमै मेरो छेउमा आईपुगिहाल्थी । त्यो सानी नानीको केहि क्षणको संगतपछि मलाई स्कुलमा पढेको भवानी भिक्षुको ‘मेरो सानो साथी’ कथा याद आयो । सायद नानीहरु यतिकै निश्चल, निस्वार्थ, निश्पाप हुन्छन र नै सबैको प्रिय हुन्छन । उनी पनि मेरो सानो साथी बनिसकेकी थिईन ।

‘लौ अफिस खुल्यो, अब जाऊँ’ छेवैमा बसेको त्यो सानी नानीको बाउ करायो । म झसंङ्ग भएँ । यथार्थको दुनियाँ त आफ्नै छ । तर, जसै त्यो सानो नानीले मेरो एक घण्टा भए पनि सुन्दर बनाई दिईन । मलाई एक घण्टा भएपनि हाँस्ने मौका दिइन । म उनीलाई वाई वाई भनेर परिस्थितिको सामना गर्न अगाडी बढेँ । बाटोमा फर्किदा पो याद आयो उनको नाम त सोध्नै पो बिर्सिएछु -धत्तेरिका ।
साभार : चाे:त्लुङ त्रैमासिक, वर्ष ३ अंक ४, २०७२