माल्भिकाको पक्षमा श्रृंखलासहित ३ पूर्व मिस नेपालको भनाइ यस्तो…

हाम्रो सन्देश संवाददाता

६ जेष्ठ, काठमाडौं ।

पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्।

सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको छ।

सार्वजनिक भिडियो अनुसार सुस्मिता रेग्मी नाम गरेकी युवतीले आफूमाथि यौनहिंसा भएको विषय माल्भिका सुब्बालाई सुनाएकी थिइन्। माल्भिका महिला हिंसाको विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

तर ती महिलालाई भने माल्भिकाले सहयोग नगरेको उनको गुनासो रहेको छ। आफूलाई यो विषयमा कुनै चासो नभएको माल्भिकाले उत्तर दिएको ती पीडित भनिएकी महिलाको भनाइ छ।

सुस्मिताले आफ्नो टिकटक तथा इन्स्टाग्राममा माल्भिकाले असहयोग गरेको विषय र कसरी यौन हिंसामा परिन् भनेर खुलाएकी छिन्।

भिडिओमा उनले पीडित भइसकेपछि अन्य धेरै सम्बन्धबाट दुःख पाएको पनि उल्लेख गरेकी छिन्।

उनले माल्भिकाले महिलाको हकको विरुद्धमा लड्ने झुठो आश्वासन देखाउने गरेको देख्या दिक्क लाग्ने पनि उल्लेख गरेकी छिन्। उनले माल्भिकालाई नक्कली अधिकारकर्मी भनेकी छिन्।

उनका अनुसार कुनै एक ब्युटी प्याजेन्टमा भाग लिँदा माल्भिका सोही प्रतियोगिताको कोरियोग्राफर थिइन्। सोही कार्यक्रममा संलग्न पुरुषबाट आफू बारम्बार बलात्कृत भएको उनको भनाइ छ।

यतिबेला माल्भिकाले ती युवतीसँग माफी मागेकी छिन्। आफूले त्यसबेला उनलाई सहयोग गर्न नपाएकोमा दुःख लागेको पनि उनको भनाइ छ।

माल्भिकाले आफूलाई अहिले यही विषयमा घृणाहरु आइरहेको र त्यसको आफू हकदार भएको पनि बताएकी छिन्।

उनले भनेकी छिन्,‘म कुनै बहानाबाजी गर्दिन। मलाई पुरा विवरण त याद छैन। तर, यो सम्झिएको छु कि तिमीले मलाई कल गरेकी थियौ र दुर्व्यवहार गरिएको विषयमा कुरा गर्न खोजेका थियौं। म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ। यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन। तिम्रो कुरा नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु। तिमीले मसँग रिसाउने सबै कारणहरु छन् र मैले जेजस्तो घृणाहरु पाइरहेको छु, त्यसको म हकदार छु।’

यद्यपी उनले आफैं डिप्रेसनमा परेकाले सो विषयमा सहयोग गर्न नसकेको बताएकी छिन्। उनी भन्छिन्,‘म आफैं डिप्रेसनसँग लडिरहेको थिए, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो विषयमा संलग्न नहुने निर्णय लिएँ। मैले त्यो समयमा उनलाई सहयोग गरेको भए मलाई थोरै गाह्रो हुन्थ्यो होला तर उनका लागि ठूलो मद्दत हुन्थ्यो होला।’

माल्भिकाको पक्षमा तीन मिस नेपाल
यतिबेला माल्भिकाको लगातार आलोचना भइरहँदा तीन पूर्व मिस नेपालहरूले उनको प्रतिरक्षा गरेका छन्।

उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन्।

श्रृङ्खला खतिवडाः माल्भिका गलत हुनुहुन्थ्यो। उहाँ एक नारीवादी अभियन्ता भएकाले धेरै महिलाहरूको अधिकार र सुरक्षाको कुरा आउँछ, यो अर्को तहमा गलत थियो। तर, म एक जनामाथि दोष केन्द्रित गर्ने र दोषारोपण गर्ने प्रवृत्तिमा योगदान दिन चाहन्न।

उहाँलाई अनफलो गर्नुहोस्, घृणा गर्नुहोस्, अपमान गर्नुहोस्, तर उहाँमाथि नै सबै दोष नथुपार्नुहोस्। सबै दोष उहाँमाथि लगाउनु उहाँको लागि अन्याय हो।

यसले दुर्व्यवहार गर्नेलाई मात्र फाइदा हुन्छ। यसले समस्या समाधान गर्न कतै पनि मद्दत गर्दैन। यहाँ व्यक्तिको खराब नैतिक निर्णय भन्दा पीडितको समस्या ठूलो छ।

जेनिशा मोक्तानः हामी त्यस चिजबाट नै निराश हुन्छौं जसबाट हामीले उच्च अपेक्षा राखेका हुन्छौं। माल्भिकाले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले उहाँबाट सबैको अपेक्षा उच्च छ। आफूले आफूलाई कमजोर नबनाउनु दिदी। तपाईँले अनगिन्ती महिलाहरूलाई सशक्त बनाउनुभएको छ, समर्थन गर्नुभएको छ। र तपाईँलाई तल झार्नु कुनै अर्को महिलालाई समर्थन गर्ने तरिका होइन। धेरै माया।

सीताश्मा चन्दः मलाई लाग्दैन कि उनले पोस्टमा उल्लेख गरेको र उनले भोगेका सबै कुराको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ। तर यो सत्य हो कि तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो। दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन। तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ। हामी सबैले कहीँ न कतै गल्ती गरेका छौँ। जिम्मेवारी स्वीकार गर्ने, माफी माग्ने र सकेसम्म यसलाई ठिक गर्न प्रयास गरौँ। तपाईँले दशकौँदेखि कति मानिसहरूलाई प्रेरित, उत्प्रेरित र मद्दत गर्नुभएको छ, त्यो हामी बिर्सन सक्दैनौँ। एउटा गल्तीले तपाईँले गर्नुभएका र हासिल गर्नुभएका अरू सबै कुरालाई ढाक्न सक्दैन र ढाक्नु पनि हुँदैन। तपाईँलाई शक्ति मिलोस्। दैनिक अनलाइन बाट