६ जेष्ठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार ८८२ मत प्राप्त भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १५ हजार ३१२ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १४ हजार ७९८ मत प्राप्त भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।
वैशाख ३० गते निर्वाचन भएका ६२८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममध्ये सबभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसले २८० स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले १०२ वटा नगरपालिकामा मेयर र १७८ गाउँपालिका अध्यक्षमा जित हात पारेको छ। त्यस्तै, नेकपा एमालेले १७३ स्थानीय तह जितेको छ। एमालेले ५९ स्थानीय तहमा मेयर र ११५ गाउँपालिकामा अध्यक्ष जितेको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहमा जित हात पारको छ। २० नगरपालिका र ९२ गाउँपालिकामा माओवादीले जितेको हो। त्यस्तै, पछिल्लो तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीले १६ स्थानीय तह जितेको छ भने एकीकृत समाजवादी पार्टीले १२ वटा स्थानीय तहमा जितेको छ।
त्यस्तै अन्य दलहरूले ३५ वटा स्थानीय तह जितेका छन्।
यसैबीच, यसपालिको स्थानीय तह निर्वाचनको अहिलेसम्म ६ सयभन्दा बढी पालिकाहरूको नतिजा आइसकेको छ। यसमध्ये नेपाली कांग्रेसले २६६, एमालेले १६८, माओवादीले १०९, जनता समाजवादी पार्टी (जसपा) ले १८ र एकीकृत समाजवादीले १३ पालिकामा प्रमुख पद जितेका छन्।
त्यस्तै राप्रपा, नेमकिपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र उम्मेदवार र अन्यले गरी ४० पालिका प्रमुख आफ्नो पोल्टामा पारेका छन्।
देशभरका ७५३ पालिकामध्ये अब केहीको मात्र नतिजा आउन बाँकी छ। तर यीमध्ये एकदमै थोरै पालिकामा मात्र महिलाले प्रमुख पद जितेका छन्। सबै पार्टीका गरी अहिलेसम्म नतिजा आएका पालिकाको ३ प्रतिशतभन्दा कम मात्र महिलाले प्रमुख पद जितेका छन्।
अहिलेसम्म कांग्रेस, एमाले र माओवादीका तर्फबाट १९ महिला गाउँ र नगरपालिका प्रमुख भएका छन्। पछिल्लो नतिजाअनुसार कांग्रेसबाट तीन नगरपालिकासहित सात पालिकामा महिला प्रमुख चुनिएका छन्।
त्यस्तै एमालेबाट चार नगरपालिकासहित आठ पालिकामा महिला प्रमुख चुनिएका छन्। अनि माओवादीबाट तीन जना गाउँपालिका अध्यक्ष चुनिएका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना नगरपालिका प्रमुख भएकी छन्।