भरतपुर ११ मा विजयले लिए अग्रता, पछि परिन् रेनु

हाम्रो सन्देश संवाददाता

६ जेष्ठ, काठमाडौं ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना अहिले जारी छ। अहिलेसम्म ४५ हजार ६० मत गणना हुँदा महानगरको मेयरमा गठबन्धनकी रेनु दाहालले १६६८९, एमालेका विजय सुवेदीले १३४१० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ भोट पाएका छन्। दाहाल र सुवेदीको मतान्तर ३२७९ छ।

वडा नम्बर १० मा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ। केही भोटले दाहाल अघि छन्। वडा नम्बर ११ को प्रारम्भिक गणनामा सुवेदी केही भोटले अघि छन्।

वडा नम्बर ११ को ११ सय मतगणना हुँदा वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन्। वडा नम्बर १० मा ३३४९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर खनाल २६० भोटले अघि छन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले दोश्रो वडाध्यक्ष जितेको छ। वडा नम्बर ९ बाट उक्त पार्टीका उम्मेदवार यमलाल कँडेल विजयी भएका हुन्। उनी गठबन्धनबट वडाध्यक्षको उम्मेदवार थिए।

कँडेलले १९५८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलाबल्लभ भुषालले १४०६ भोट ल्याए। यसअघि उक्त पार्टीले वडा नम्बर ७ मा पनि वडाध्यक्ष जितेको थियो।

अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् ।

तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई÷दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् ।

कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएका आयोगले जनाएको छ ।

अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।