बालेनको जादु: बालेन साहको भोट बढेको बढ्यै, मतान्तर झन फराकिलो

हाम्रो सन्देश संवाददाता

३ जेष्ठ, काठमाडौं ।

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर झन बढाउँदै लगेका छन् ।

पछिल्लो मत विवरण अनुसार, उनले अहिलेसम्म १०८९९ भोट पाएका छन् । एमालेका केशव स्थापितले ५८४१, गठबन्धनको तर्फबाट कांग्रेसकी सृजना सिंहले ५११४, राप्रपाका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र सुमन सायमीले ६३३, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ७८, अर्का स्वतन्त्र सुशील थापा क्षेत्रीले ३०, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले ११ मत पाएका छन् ।

हाल गणना भइरहेको स्थानहरु काठमाण्डौको नेवारहरुको बाक्लो बस्ती हो । नेवार बस्तीमा समेत बालेनकाे मत नघटेपछि उनले चुनाव जित्न सक्ने अड्कालबाजी शुरु भएको छ ।

बुटवल उपमहानगरः गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै
बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल अगाडि हुनुहुन्छ । उहाँको सात हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ । राप्रपाकी भगवती पाण्डेको दुई हजार ६४ मत रहेको छ ।

बुटवल उपमहानगरको वडा नं १ मा स्वतन्त्र उम्मेदवार, वडा नं २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्र, वडा नं ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं १८ र १९ मा एमालेले जित हासिल गरेको छ ।