काठमाडौँमा बालेनले ७ हजार मत कटाउँदा स्थापित र सिर्जनाको कति ?

हाम्रो सन्देश संवाददाता

२ जेष्ठ , काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ने ७ हजार मत कटाएका छन्। पछिल्लो पटकको आधिकारिक मत परिणाम अनुसार बालेनले ७ हजार ५३४ मत पाएका छन्।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार ९८२ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत पाएकी छिन्।

पछिल्लो अपडेट अनुसार बालेनले दोश्रो स्थानका केशव स्थापितभन्दा ३ हजार ४७७मतले अगाडी छन् ।

भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा विजयी
भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो ।

नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गर्नुभयो । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले)का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र)का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै वडा नं. १ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी हुनुभएको छ ।