तीन विषयमा मास्टर्स डिग्री र एलएलबी गरेका गिरेन्द्र बहादुर राई गठबन्धनविरुद्ध एक्लै हाबी

हाम्रो सन्देश संवाददाता

२ जेष्ठ , खोटाङ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई निर्वाचित भएका छन्।

पालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका श्री बहादुर राईलाई पराजित गर्दै गिरेन्द्र बहादुर राई विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित राईले २ हजार ६ सय ६ मत प्राप्त गरेभने उनका निकटतम प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गरे।

सिंगो गठबन्धनविरुद्ध एमालेका गिरेन्द्र बहादुर राई एक्लै हाबी भएका हुन्। त्यसो त गिरेन्द्र बहादुर राई शिक्षित व्यक्ति हुन्।

उनले तीनवटा विषयमा स्नातकोत्तर ‘मास्टर्स डिग्री’को अध्ययन पुरा गरेका छन्। अंग्रेजी साहित्य, पोलिटिकल साइन्स र सार्वजनिक प्रशासनमा उनले मास्टर्स डिग्री हासिल गरेका हुन्।

यी विषय अध्ययन गरेका उनले राजनीतिको विषयमा राम्रो दख्खल राख्नु स्वभाविक नै हो। त्यतिमात्र नभएर यतिबेला उनी गाउँपालिका अध्यक्ष पनि भएका छन्।

सार्वजनिक प्रशासनमा पनि स्नातोकोत्तर पुरा गरेकाले अब गाउँपालिकालाई विकास र समृद्धिमा लैजान उनलाई धेरै समय लाग्नेछैन। त्यसबाहेक उनले कानूनमा स्नातक तह एलएलबीको पनि अध्ययन पुरा गरेका छन्। अधिवक्ताको लाइसेन्स पनि उनले प्राप्त गरिसकेका छन्।

स्थानीयहरुका अनुसार गिरेन्द्र राई जत्तिको शिक्षित व्यक्ति ऐँसेलुखर्क गाउँपालिकाले पाउनु सुखद विषय हो।

स्थानीय सेसन राईका अनुसार गिरेन्द्र बहादुर राई असल राजनीतिज्ञ त हुन नै अब प्रशासनिक विषय र कानुनको पनि राम्रो शिक्षा र अनुभव भएका उनले गाउँपालिकालाई चाँडै विकासको बाटोमा डोर्याउनेछन्।

गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सडक सन्जाल, बिजुली, संचार प्रणालीलाई अब्बल बनाउने नवनिर्वाचित गिरेन्द्र बहादुर राईको सोच छ।

साथै उनले गाउँपालिकाले हरेक जनतालाई चुस्त, पारदर्शी र न्यायोचित ढंगबाट सेवा दिने पनि वाचा गरेका छन्। त्यसबाहेक गाउँमा उद्यमशिलता र रोजगारीको कार्यक्रम ल्याउनमा उनले जोड दिनेछन्। दैनिक अनलाईन