३१ वैशाख, काठमाडौं ।
चितवनको भरतपूर महानगरपालिकामा मतगणना जारी छ । केही बेर अघि सुरु भएको गणनामा ५५ मत गनिसकिएको छ । उक्त मत गन्दा नेकपा(एमाले) का उमेदवार विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनु दाहालले १९ मत प्राप्त गरेकी छिन् । कांग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन् । यहाँ ६ मत बदर भएको जनाइएको छ ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ । सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो ।
खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए ।
राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ । यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ ।
यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् ।
जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो ।
यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।