मतगणनास्थलमै निगरानी गर्न पुगे बालेन शाह : मतगणना ताजा अपडेट

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मतगणना सुरू भएको छ। वडा नम्बर १ र ३२ को मतपेटिका खोलिएको छ । बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि भर्खरैमात्र सुरु भएको हो ।

स्वतन्त्र उमेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो । अहिले मतगणना भइरहेकाे छ ।मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन्।

मतगणना भइरहेको स्थानलाई निगरानी गर्दै गरेको देखिन्छ। मेयरका प्रमुख उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन्। अघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो।

पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।

शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। काठमाडाैंकाे मतगणना खुब चासाेका साथ हेरिएकाे छ ।

उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।

उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ११० मत पाएका छन् ।

वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् । अहिलेसम्म ३०० मत गणना भएको छ ।

जनकपुरमा बागी बलिया

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका ‘बागी’ उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ७०० मतगणना गर्दा साहले २३२ मत पाएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उमेदवारी दिएका हुन् ।

सत्ता गठबन्धनतर्फका उमेदवार लालकिशोर साहले २८ मत पाएका छन् । अहिले जनकपुरधाम–१ को गणना भइरहेको छ ।

यस्तै, नेकपा (एमाले)का उमेदवार शिवशंकर साह ‘हिरा’ले ९५, स्वतन्त्र उमेदवार बलाराम महतोले ५३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोजकुमार चौधरीले ४१ र स्वतन्त्र उमेदवार जानकीराम साहले २७ मत पाएका छन् ।