मत गणना अपडेट : काठमाडौंमा शुरू भयो मतगणना

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना शुरू भएको हो ।

मतगणना वडा नं. १ र ३२ बाट शुरु गरिएको छ ।

मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै शुरू हुन सकेको थिएन ।

काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् ।

सुरुवातमै स्वतन्त्र उम्मेदवारको कमालः एमाले धेरै पछाडी, गठबन्धनको अवस्था दयनिय !

यसपटकको स्थानिय चुनाव यसकारण पनि प्रतिक्षित बनेको छ कि देशभर स्वतन्त्र उम्मेदवारहरुको संख्या बाक्लै देखिएको छ र ती स्वतन्त्र उम्मेदवारलाई जनताले मन पराएका तथ्यहरु बाहिरिन थालेका छन् ।

काभ्रेमा स्वतन्त्र उम्मेदवारले कमाल गरेका छन्ु । काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्। जेब्रा चुनाव चिन्ह भएका उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवारको अवस्था दयनिय देखिएको छ । गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन्। मतगणना जारी छ। धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए। अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए।

गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए। यस्तै उता बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन्।

४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी हमालले ५ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए। उपमेयरमा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन् ।

माओवादी केन्द्रकी कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन्। यता काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको व्यापक चर्चा छ । यहाँको मतगणना वडा नम्बर १ र ३२ बाट सुरु भएको छ ।