काठमाडौंमा मतगणना सुरु बिषयमा यस्तो सूचना आयो !

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

‘हामी बाकस बुझ्ने क्रममै छौं, सर्वदलीय बैठक पनि बसेको छैन’ उनले भने, ‘ सर्वदलीय बैठकले जतिबेला देखि गणना सुरु हुन्छ भनेर निर्णय गर्छ, त्यतिबेलैदेखि मतगणना सुरु हुन्छ ।’

५०/६० वटा मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।

पोखरा महानगरपालिकामा आज मतगणना नहुने

पोखरा महानगरपालिकाको मतगणना शुक्रबार नहुने भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बोलाइएको र त्यसपछि सहमति जुटाएर मतगणना थालिनेछ ।

निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल प्रसाद पनेरुले शनिबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताए । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट धन राज आचार्य र एमालेबाट कृष्ण थापा चुनावी मैदानमा छन् ।

हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि बिहान ७ बजेबाट

हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि बिहान ७ बजे बाट मत गन्न सुरु हुने भएको छ । आज राती १०:३० बजे बसेको सर्वदलीय बैठकले भोलि ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो ।

मुख्य निर्वाचन कार्यालय हेटौंडाले हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विध्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मत गणना स्थलमा तारजाली सहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौंडा उपमहानगरपालिकाको कुल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो ।