मत गणना अपडेट : मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेकाे अग्रता

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, मुस्ताङ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना सुरू भइसकेकाे छ । वडा नम्बर १ को मत गणना सकिँदा एमालेका पालिका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ मत ल्याएका छन् । यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवार मोहनसिंह लालचनले ४५ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी मिमिकुमार शेरचनले ७२, कांग्रेसकी जमुना थापा मगरले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले जानकारी दिए ।

सो वडामा नेपाली कांग्रेसका आशबहादुर थकाली र वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका परजिब थकाली निर्विरोध निर्वाचित भएका थिए ।

काठमाडौं महानगरपालिका : ६० वटा मतपेटिकाहरु बुझ्न बाँकी

काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा यतीबेला सबैको नजर छ । ३६३ मतदान केन्द्र रहेको काठमाडौं महानगरपालिकाको सबै मतदान केन्द्रबाट मतदान कार्य सम्पन्न भइ मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छ।

मतपेटिकाहरु साढे ५ लेखि बुझने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिए । ६० वटा मतपेटिकाहरु बुझ्न बाँकी रहेको छ । कर्मचारीहरुले मतपेटिकाहरु बुझ्नेक्रम जारी रहेको छ ।

सबै मतपेटिका बुझिसकेपछि दलका उम्मेदवारसँग बसेर छलफल भएपछि बाँकी प्रक्रियाको निश्चित हुने उनले जानकारी दिए । सर्वदलीय बैठक पछिमात्रै मतगणना हुने वा नहुने भन्ने विषयको टुंगो लाग्ने उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि बिहान ७ बजेबाट

हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि बिहान ७ बजे बाट मत गन्न सुरु हुने भएको छ । आज राती १०:३० बजे बसेको सर्वदलीय बैठकले भोलि ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो ।

मुख्य निर्वाचन कार्यालय हेटौंडाले हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विध्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मत गणना स्थलमा तारजाली सहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौंडा उपमहानगरपालिकाको कुल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो ।