३० वैशाख, काठमाडौं ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए । जोशीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको तर ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
मतदानस्थल तोडफोडको भिडियो चर्चित हास्यकलाकार मधुसुदन पाठक ‘सीतेबा’ले फेसबूकमा राखेका छन् ।
यो सीतेबाले मतदान गर्ने मतदान स्थल पनि हो ।
हेर्नुहोस्, भिडियो : लोकान्तर संवाददाता
मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो
स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ ।
जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाका २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उहाँले बताउनुभयो ।
सदरमुकाम चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको शर्माले बताउनुभयो ।
निर्वाचनबाट मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । केही पालिकाका वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसमेत सर्वसम्मत निर्वाचित भइसकेका छन् । चार गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी आठ जना निर्वाचित हुनेछन् ।
त्यस्तै २८ वडाबाट एक÷एक अध्यक्ष र चार सदस्य गरी १४० जना निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालका अनुसार जिल्लामा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको हो । “शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ, १ बजेसम्म तीन हजार ८७३ मत खस्यो,” उहाँले भन्नुभयो ।
जिल्लाका चार वटै पालिकामा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका मतगणना आजै साँझदेखि मतगणना हुनेछ । मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै गतगणना सुरु हुने शर्माले बताउनुभयो ।
मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच÷पाँचवटा मतदान केन्द्र कायम छ । मनाङमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् ।