३० वैशाख, काठमाडौं ।
दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेस अवरोध गरेका छन् । पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् ।
उनीहरुले बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । उनकाअनुसार मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन् ।
उनीहरुले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ ।
अहिले सर्वदलीय बैठक बसेर मतदान शुरु गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले बताए । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।
निर्धक्क भइ मतदान गर्न आग्रह
स्थानीय तह निर्वाचनमा निर्धक्क भइ मतदान गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ । स्वच्छ,निष्पक्ष र धाँधलिरहीत रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लाका ५१ वटै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आ–आफ्ना मतदान केन्द्रबाट मतदान गर्न रसुवाली मतदातालाई म आग्रह गर्दछु ।” प्रशासनले कहीँकतै सुरक्षा चाहिएमा वा चाहिने अवस्थामा आएमा नजिकको सुरक्षा निकायसँग तुरुन्तै समन्वय गर्न आग्रह समेत गरेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना र जिल्लास्थित राष्ट्रिय अनुसान्धान विभागसमेत परिचालन गरिएको प्रशासनले जनाएको छ ।
नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा जान मतदातालाई अनुरोध गरिएको छ ।