घट्दै डलरको सञ्चिति, अब ६ महिनामात्रै आयात धान्ने

हाम्रो सन्देश संवाददाता

२८ वैशाख, काठमाडौं ।

नेपालसँग भएको विदेशी मुद्रा सञ्चिती क्रमशः घट्दै गएको छ। गत असारको तुलनामा कूल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु. ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब करोड रुपैँया बराबर रहेको थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति असारको तुलनामा चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ। गत असारमा ११ अर्ब ७५ करोड रहेको थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) ग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ। २०७८ चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ।

उक्त सञ्चिति आर्थिक वर्ष २०७८-७९ को नौं महिनाको आयातलाई आधार मान्दा ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। तर गत फागुनमा यस्तो सञ्चिति ६.७ महिनालाई धान्न पुग्ने थियो। तर बस्तुको मात्रै आयात गर्ने हो भने अहिलेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले बताएको छ।