के भ्यासेक्टोमी गरेपछि पुरुषको यौन क्षमतालाई असर गर्छ..?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

भ्यासेक्टोमी पुरुषले गर्ने स्थायी बन्ध्याकरण हो । यो सुरक्षित सामान्य शल्यक्रिया (अपरेशन) हो । यो शल्यक्रिया गर्दा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट दुवैतिरका शुक्रकीट बाहिनी नली (वीर्यनली) बाँधेर काटिन्छ ।

भ्यासेक्टोमी गरेपछि पुरुषको यौन क्षमतालाई कुनै असर गर्दैन । भ्यासेक्टोमी गरिसकेपछि ३ महिनासम्म यौन सम्पर्क गर्नुपरेमा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ । किनभने शुक्रकीट बाहिनी नलीमा रहिरहेको शुक्रकीट निख्रन करीब ३ महिना लाग्छ ।

भ्यासेक्टोमीले कसरी गर्भ रोक्छ ?

भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोशमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीट नलीहरु काटेर बाँधिन्छ । शुक्रकीट आउने दुवै नली बन्द गरेपछि शुक्रकीट आउन पाउँदैनन् । महिलाको डिम्ब र पुरुषको शुक्रकीट भेट हुँदैन र गर्भ रहन पाउँदैन ।

भ्यासेक्टोमी कस्ता पुरुषलाई उपयुक्त हुन्छ ?

सन्तानको रहर पुगिसकेको, एच.आई.भी. संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी (एच.आई.भी को औषधी) सेवन गरिरहेका पुरुषले पनि भ्यासेक्टोमी गर्न सक्छन् ।

बन्ध्याकरणपछि यौ न जीवनमा समस्या हुन्छ कि हुदैन ?

बन्ध्याकरण र यौन नितान्त फरक कुरा हुन् । बन्ध्याकरणले यौन जीवनमा कुनै असर प्रभाव पार्दैन । तर हाम्रो समाजमा बन्ध्याकरणपछि पुरुष ‘नामर्द’ हुन्छ र यौन जीवन तहसनहस हुन्छ भन्ने भ्रम छ । यी सबै बजारका हल्ला मात्रै हुन् । बन्ध्याकरण गरेपछि यौन क्षमतामा कमी आउने, भारी काम गर्न नसक्ने, कमजोर हुने, बुढ्यौली आउने सबै कुरा भ्रम हुन् । यस्तो कहींकतै पुष्टि भएको छैन ।

स्थायी बन्ध्याकरणप्रति सचेतना किन कम छ ?

सन्तानको रहर पुगिसकेका पुरुषको स्थायी बन्ध्याकरण सिंगो परिवारका लागि फाइदाजनक हुन्छ । तर, हाम्रो समाजमा सन्तानको रहर पुगेर बुढो भइसकेपछि पनि परिवार नियोजन गर्ने चलन छैन । भलै, अहिले पढेलेखेका युवाहरू यति समयमा बिहे गर्छु, यो जागिर खाएपछि बिहे गर्छु भन्नेसम्म पुगेका छन् ।

त्यसो त, नेपाली समाजमा परिवारप्रति चिन्ता/चासो गर्ने चलन छैन । थोरैले बाहेक कसैले पनि परिवार योजना अर्थात् फेमिली प्लानिङ नै बनाउँदैनन् । बिहे गर्ने, बच्चा जन्माउने र जन्मान्तरबारे योजना नै बनाउँदैनन् । जसका कारण स्थायी बन्ध्याकरण गर्नेहरुको संख्या न्यून देखिएको छ ।