पोखरामा पाँच दलीय गठबन्धन टुट्यो, झन्डा प्रयोग गरिएपछि जसपाको आपत्ति

हाम्रो सन्देश संवाददाता

२५ वैशाख, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए । आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।

‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं ।’

उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो ।

तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् ।

दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो
ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ ।

दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिनुभयो ।दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोलालगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताउनुभयो ।

टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् ।