चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

हाम्रो सन्देश संवाददाता

१४ चैत, काठमाडौं ।

चीनमा गत सोमबार दुर्घटनामा परेको यात्रुवाहाक विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना भएको छैटौँ दिन उद्धारकर्ताले विमानमा सवार सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन्।

बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो। चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने।

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआङ्शी प्रान्तको झुआङ् क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त विमानमा १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ। दुर्घटना भएलगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।

तेस्तै, बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्याइएको छ। एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो।

ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन्। तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन्। उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो।

एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन। त्यहाँ धेरै कोलाहल थियो, यात्रुले भने।

त्यसपछि उनी विमानको अगाडि पुगिन। उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन। कसैले उनको रिस शान्त पार्न सकेनन्। महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ।

युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले रुसी निकायसँग मिलेर थालेको मंगल ग्रह अभियान स्थगित गर्ने घोषणा गरेको छ ।ईएसएले रुसको राज्य सञ्चालित रोस्कोस्मोस अन्तरिक्ष निकायसँग मिलेर थालिएको एक्सोमार्स अभियान अनिश्चितकालसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ईएसएको परिषद् बैठकले यस्तो निर्णय गरेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् ।युक्रेनमाथि आक्रमण गरेसँगै रुसी संस्थान एवम् महत्वपूर्ण व्यक्तिहरूमाथि युरोपेली मुलुकहरुले प्रतिबन्ध लगाएको अवस्थामा ईएसएको यस्तो घोषणा आएको हो ।

‘युक्रेनमाथिको आक्रमणबाट भएको मानवीय क्षति र दुःखपूर्ण नतिजाको हामी निन्दा गर्दछौँ ।’ ईएसएको विज्ञप्तिमा उल्लेख छ । ‘अन्तरिक्षको वैज्ञानिक अन्वेषणमा यसले पारेको प्रभावलाई स्वीकार गर्दै ईएसए रुसमाथि सदस्य मुलुकहरुले लगाएको प्रतिबन्धको पूर्ण पक्षमा छ ।’

यता रुसले भने ईएसएको यस्तो निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गरेको छ । ‘अन्तरिक्षप्रति चासो राख्ने सबैका लागि यो तितो निर्णय हो ।’ रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका छन् । उनले रुस एक्लैले अनुसन्धानात्मक अन्वेषणलाई जारी राख्ने समेत बताए ।