उपत्यकाका तीनै प्रजिअको बैठक सकियो के आयो त नतिजा ?

हाम्रो सन्देश संवाददाता

२७ पुस, काठमाडौं ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नियन्त्रणका प्रयासहरुबारे काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘तीन जिल्लाका सिडिओको छलफल सकियो । अहिले हामी जिल्लागत रुपमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक गरिरहेका छौँ ।’

उनका अनुसार तीन जिल्लाका सिडिओबीच समग्रमा उपत्यकाको अवस्था र संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे छलफल भएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिन तथा सार्वजनिक सेवा लिन आउनेहरुले अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागु गर्न निर्देशन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल भइरहेको काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

मंगलबार अपरान्हसम्म जिल्लागत संक्रमण नियन्त्रणका लागि अपनाउने उपायहरु सम्बन्धमा सूचना जारी हुने जनाइएको छ ।

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो ।

यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भन्नुभयो, “१२ देखि १७ वर्ष उमेर समूहका शत्प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ । खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।”

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएकोे सूचना अधिकारी महतले जानकारी दिनुभयो ।