भोलिदेखि लागु हुने गरी माघ १५ सम्म विद्यालय बन्द

हाम्रो सन्देश संवाददाता

२६ पुस, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि लागु हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा पछिल्ला केही दिन कोभिड १९ संक्रमण तीब्र रुपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्ट संक्रमण समेत पुष्टि भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा वचावटको विषयलाई ध्यान दिदै भोलिदेखि लागु हुने गरी माघ १५ गतेसम्म आधारभूत तथा माध्यमिक विद्यालयमा विदा दिने निर्णय भएको उल्लेख छ ।

सीसीएमसीको हिजो बसेको बैठकले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । ििवदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।

२०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।