नेपालमा कोरोनाको संक्रमणदर उकालोलाग्दो गर्दा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय !

हाम्रो सन्देश संवाददाता

२६ पुस, काठमाडौं ।

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।

बिजुलीको गतिमा ओमिक्रोन फैलिदै

भारतमा भएको अध्ययनअनुसार दोस्रो लहरमा कोरोनाको आर भ्यालु १ दशमलव ६९ प्रतिशत थियो। अहिले भार भ्यालु २ दशमलव ९ प्रतिशत छ । आर भ्यालुमार्फत कोरोना फैलने रफ्तार अनुमान गरिन्छ। यदी १ सय व्यक्ति संक्रमित छन् र उनीहरूले थप एक सयलाई संक्रमित बनाउँछन् भने आर भ्यालु १ मानिन्छ। अर्थात्, तेस्रो लहरमा संक्रमण धेरै फलने देखिएको छ। र, यसको कारण ओमिक्रोनलाई लिइएको छ।

डा.पुनका अनुसार ओमिक्रोन बिजुलीको गतिमा फैलिरहेको छ, जुन हामीले पत्तो समेत लगाउन सक्दैनौं। “२३ गते मन्त्रालयले २४ जनामा ओमिक्रोन देखियो भनेर सूचना निकाल्यो यसलाई आधार मानेर हेर्ने हो भने ओमिक्रोन समुदायस्तरसम्म बिजुलीको गतिमा फैलिरहेको छ,” उनले भने, “ओमिक्रोन समुदायस्तरमा फैलिसकेको कुरामा दुईमत रहेन।

तर यसले डेल्टा जति जटिल समस्या नल्याउने भएकाले कतिपय संक्रमित व्यक्ति घरमै बसेर पनि बिना चेकजाँच निको भइसकेको हुनसक्छन्।” संक्रमण फैलिएपनि अस्पतालमा चाप नबढेकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।