ध्वनि प्रदूषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

हाम्रो सन्देश संवाददाता

२५ पुस, काठमाडौं ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ। उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत परिवर्तन गरिएको छ। ‘सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएको पाइएको छ’, उनले भने,’मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदूषण हुने गरेको छ।’

मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर चालकलाई सम्झाइबुझाइ पठाउने गरिएको सिंहको भनाइ छ। सम्झाउने र कारबाही गर्ने काम सँगसँगै थालिएको छ। कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ।

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताउनुभएको छ । उहाँले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्नुहुँदै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताउनुभयो ।

उहाँले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाउनुभयो ।

प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उहाँले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताउनुभयो । कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उहाँले समयक्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गर्नुभयो । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उहाँको परिवारको रु ५० करोड लगानी रहेको छ ।