पुस २७ गते सार्वजानिक बिदा दिने निर्णय !

हाम्रो सन्देश संवाददाता

२० पुस, काठमाडौं ।

पृथ्वीजयन्तीको दिनमा गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गोरखा नगरकार्यपालिकाको बैठकले पृथ्वी जयन्तीकाको अवसरमा आउँदो पुस २७ गते सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको कार्यालयले पृथ्वी जयन्तीका दिन बिदा दिने जनाएको हो ।

‘२०७८ पौष २७ गते मंगलबार यस नगरपालिकाका कार्यालय, वडा कार्यालयहरु, नगरपालिका अन्तरगत स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा १ दिन सार्वजनिक बिदा हुनेछ’, सो सूचनामा भनिएको छ ।

नगर कार्यपालिकाको आइतबार सम्पन्न बैठकले सो दिन बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप अघिल्ला वर्षहरुमा पनि गोरखा नगरपालिकाल सो दिनमा सार्वजनिक बिदा दिँदै आएको छ । सो दिन गोरखा संग्रहालयमा नगरपालिकाले औपचारिक कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।

शीतलहर र हुस्सुले जनजीवनमा असर

बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयका इन्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहर र हुस्सुका कारण अहिले भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।

भिजिबिलिटी कम भएका कारण नेपालगञ्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् ।चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बालेर ताप लिनका लागि तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई पाँच हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो ।

चिसोबाट सर्वसाधारणलाई जोगाउन बाँकेको जानकी गाउँपालिकाले ६ वटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।

जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा नं १ देखि वडा नं ६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल उपलब्ध गराएको उहाँको भनाइ थियो ।