७.३ म्याग्निच्युडको भूकम्प गयो

हाम्रो सन्देश संवाददाता

१६ पुस, काठमाडौं ।

इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ ।

बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ।

स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।

एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पन रेकर्ड गरेको छ । एजेन्सीले मानिसहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी लिइरहन र सचेत रहन आग्रह गरेको छ ।

माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने

नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ ।बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।