अब विदेश घुम्न जानेले वर्षमा २ पटक मात्र डलर साट्न पाउने, स्रोत पनि खुलाउनुपर्ने

हाम्रो सन्देश संवाददाता

१५ पुस, काठमाडौं ।

अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । केन्द्रीय बैंकले विदेशी मुद्रको सञ्चिति घट्दै गएपछि पर्यटन भिसामार्फत घुम्न जानेको सटही सुविधामा कडाइ गरेको हो । राष्ट्र बैंकले निर्देशन जारी गर्दै उक्त सुविधामा कडाई गरेको हो । यो व्यवस्था भारत बाहेकका अन्य मुलुकमा लागू हुनेछ ।

निर्देशनमा भनिएको छ, ‘भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहनानीवापत प्रति पटक अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा १ वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।’

राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा दिनु पर्ने व्यवस्था गरेको छ । साथै, राहदानीबाहक आँफै उपस्थित भएको अवस्थामा मात्र सटही सुविधा उपलब्ध हुने ब्यवस्था गरेको छ ।

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालन
हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिनुभयो ।