माओवादीमा प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने !

हाम्रो सन्देश संवाददाता

१४ पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गको जारी बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन र नेता देव गुरुङ्गले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल जारी छ । प्रतिवेदन र मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहले समूहगत सुझाब राखिरहेका छन् ।

प्रतिवेदन र विधानमाथि राखिएका सुझाबमा हरेक तहका कमिटीहरुमा प्रमुख कार्यकारी पदमा बढीमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्थाको माग गरिएको छ । समूहगत सुझाबका रुपमा प्रतिनिधिहरुले विधानमै स्पष्ट रुपमा दुई कार्यकालको व्यवस्थालाई उल्लेख गर्नुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट बन्दसत्रमा सुझाब पेस गर्दै मीनबहादुर कुँवरले पार्टी सँगसँगै सरकारको कार्यकारी पदमा पनि दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागु गर्न माग गरे ।

जिम्मेवार नेताहरुको कार्य प्रगति मुल्यांकन गर्ने व्यवस्था पनि हुनुपर्ने नेताहरुको माग छ । जसलाई स्पष्ट रुपमै विधानमा व्यवस्था गर्न माग गरिएको छ ।

माओवादीको बन्दसत्र सुरु : टोली नेतालाई १५ मिनेटको समय
नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।

कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि (१ः३० बजे)देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए । समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो । बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।

टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गर्नुभएको थियो ।