प्रचण्डको दस्तावेजको सार : ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’

हाम्रो सन्देश संवाददाता

१२ पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभएको छ । निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ । “शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधिनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ”, दस्तावेजको सार उहाँले भन्नुभयो ।

केही ढिला गरी शुरु भएको बन्दसत्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो । अध्यक्ष प्रचण्डले दस्तावेज पेस गरेलगतै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

माओवादी पदाधिकारी १५ सदस्यीय हुने
नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिनुभयो । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।