मोटरसाइकल दुर्घटनामा परे हर्के हवल्दारका कलाकार सागर

हाम्रो सन्देश संवाददाता

१२ पुस, काठमाडौं ।

हास्यसिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी सडक दुर्घटनामा परेका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । आइतबार ‘हर्के हवल्दार’ छायाँकनका लागि भक्तपुरबाट काठमाडौँ धर्मस्थली आउँदै गर्दा उनी दुर्घटनामा परेका हुन् । मोटरसाइकलमा छायाँकनका लागि जाँदै गर्दा दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।

दुर्घटनालगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चो ट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकोले सोमबार अपरेसन हुने भएको छ ।

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।

अस्पताल बनाउन रु ६० लाख सहयोग

मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गर्नुभएको हो । अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबारमात्र रु १४ लाख ८३ हजार ६४१ हजार हस्तान्तरण गरेको थियो ।

सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिनुभयो ।

स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब रु ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो ।