वैदेशिक रोजगारमा जानेका लागि छुट्याइयो पाँचलाख जोन्सन एन्ड जोन्सन खोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

उनीहरुलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरिएको मन्त्रालयले बताएको हो।

वैदेशिक रोजगारमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन्।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।

श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकाहरुलाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जानकारी दिएको छ।