बाबुराम भट्टराईलाई माओवादीको अध्यक्ष बन्न प्रचण्डको अफर !

हाम्रो सन्देश संवाददाता

११ पुस, काठमाडौं ।

नेकपा माओवादी केन्द्रकका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टीको अध्यक्ष बन्न प्रस्ताव गरेको खुलासा भएको छ ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमार्फत भट्टराईलाई अध्यक्ष बन्न प्रस्ताव राखेको भन्दै आफैले खुलासा गरेका हुन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘एउटा मिटिङमा मैले भन्याथे, अब सम्मेलन अथवा अधिवेशन गरौं, तपाईं अध्यक्ष हुनुस् भनेर प्रस्ताव राखेको थिए, मैले यो कुरा आजसम्म मैले बाहिर भनेको थिइन आज भने मैले।’

प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने बताएका छन्। शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो(चाँडो एक ठाउँमा हुने बताए।

उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

प्रचण्डले माधव नेपाल मात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए। नेतृत्व भनेको औपचारिक मात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।

‘नेतृत्व भनेको औपचारिक मात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन,’ उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचन हुनुहुँदैन पनि भन्दैनौं।’

उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए। ‘निर्वाचन र मूल्यांकन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो, कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन,’ प्रचण्डले भने।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।

अहिले तत्काल ठुला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए। ‘तत्काल कुनै पनि ठुला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर, साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरूसँग एकता गर्न लागेको बताए।

‘स-साना कम्युनिष्ट पार्टीहरू हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौं।’

नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहेको पनि बताए। ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।