बंगलादेश: फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

९ पुस, ढाका ।

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ । ’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।

भारतमा ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नुपर्नेछ ।

यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालिन कर्फ्यू लगाइएको थियो ।

कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।

भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।