आरआरका विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएर यस्तो भयो जग

हाम्रो सन्देश संवाददाता

८ पुस, काठमाडौं ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा परीक्षा हलभित्रै मंगलबार आपराधिक घटना भयो- गार्ड बसेका शिक्षकमाथि एक विद्यार्थी जाइलागे।

ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए।

पहिलो वर्षका विद्यार्थीको परीक्षा भए पनि दोस्रो वर्षमा पढ्ने जेठारा परीक्षा हलभित्र छिरेका थिए। उनी जबरजस्ती परीक्षा हलभित्र छिरेपछि उनलाई पुडासैनीले बाहिर निकाल्न खोजेका थिए। परीक्षा नै नभएका विद्यार्थी हलभित्र छिरेपछि पुडासैनीले निकाल्न खोज्दा विवाद भएपछि विद्यार्थी कुटपिटमा उत्रिएका थिए।

‘ती विद्यार्थीले तीर्खा लाग्यो भन्दै पानी भएको स्टिलको जग उचाले,’ आरआर क्याम्पसका बिहानी सत्र सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यले भने, ‘त्यसपछि त्यही जगले शिक्षकको टाउकोमा प्रहार गर्‍यो। उसलाई २०/२५ मिनेट जति सबैले घेरेर राखे। केहीबेरमा पिसाब लाग्यो शौचालय जान्छु भन्यो। शिक्षक रूममै रहेको अट्याच बाथरूममा जान दिइयो, भित्रबाट ढोका लगाएर ऊ शौचालयकै झ्यालबाट भाग्यो।’

‘जोखिम लिएरै ऊ शौचालयको झ्यालबाट छिरेर भागेको हो, अहिलेसम्म पक्राउ परेको छैन,’ आचार्यले भने, ‘प्रहरीमा जाहेरी दिइएको छ।’

विद्यार्थीले अर्कै शौचालय जाने अडान लिए पनि शिक्षक कोठाभित्रै रहेको शौचालय पठाइएको थियो। शिक्षकलाई कुटपिट गर्ने विद्यार्थी जेठारालाई कारबाही गर्नेबारे क्याम्पसले अहिलेसम्म केही निर्णय लिइसकेको छैन।

विवादबीच विद्यार्थी जेठाराले शिक्षकको टाउकोमा प्रहार गर्दा जग कुच्चिएको छ। ‘उहाँको टाउकोमा सात टाँका लगाइएको छ। उपचारपछि उहाँ हिजो घर फर्किनुभएको हो। डाक्टरले बान्ता हुनेजस्ता समस्या देखिए फलो अपमा आउन भनेका छन्,’ उनले भने।

पुडासैनीको आरआरसँगै रहेको काठमाडौं मोडल अस्पतालमा उपचार भएको थियो।

‘हड्डीमा परेर उहाँ जोगिनुभयो, जग कुच्चिएको हिसाबले हेर्दा ज्यान नै तलमाथि हुने खालको घटना देखिन्छ,’ आचार्यले भने, ‘ती विद्यार्थीले आफूलाई पुडासैनी शिक्षकजस्तो नलागेर कुटेको भनेको छ। कुटपिट गरेपछि जे भने पनि भयो, अनुशासनहीन विद्यार्थीले।’

पहिलो वर्षको परीक्षा भएको हलमा दोस्रो वर्ष पढ्ने विद्यार्थी जबरजस्ती किन प्रवेश गरे भन्ने खुलेको छैन।

‘यो उसको परीक्षा थिएन, ऊ दोस्रो वर्षमा पढ्ने आरआरकै विद्यार्थी हो,’ उनले भने, ‘हजार-बाह्र सय विद्यार्थी राखेर विभिन्न कक्षामा परीक्षा चलाइएको थियो। आन्तरिक परीक्षा भएकाले परीक्षार्थीसँग प्रवेश पत्र पनि हुँदैन त्यसैले कुन परीक्षार्थी हो वा होइन छुट्याउनै मुश्किल पर्छ।’

चार दिनसम्म चलेको परीक्षा आज सकिएको छ। ‘घटनाका दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म पठनपाठन नगर्न क्याम्पस प्रशासनलाई प्राध्यापक संघलगायतले ज्ञापन पत्र बुझाएका छन्,’ आचार्यले भने, ‘आज पनि परीक्षा थियो, सकियो। आन्तरिक परीक्षा दिएर मात्रै परीक्षा फारम भर्ने हो त्यसैले परीक्षा चलायौं।’

मानविकीतर्फ वार्षिक परीक्षा हुने भए पनि ३० नम्बरको आन्तरिक परीक्षा लिने व्यवस्था छ। ‘परीक्षा आयो भनेपछि व्यवस्थापन मिलाउन तनाव हुन्छ। कुटाइ खाइखाइ कसलाई परीक्षा गार्ड राख्ने? पाँच हजार रुपैयाँ दिए पनि बस्दिनँ भन्छन् शिक्षकहरू,’ उनले भने, ‘विद्यार्थीको यस्तो व्यवहार हुने हो भने अब प्रहरी र सेना राखेर परीक्षा गरे हुन्छ, शिक्षक त निरिह छ- विद्यार्थीसँग मुकाबिला गर्न शिक्षक ब्ल्याकबेल्ट लिएर आएको हुन्न। परीक्षा चलाउनै गाह्रो हुन थालेको छ।’

मानविकीतर्फ आन्तरिक परीक्षा लिने प्रणाली व्यवस्थित छैन। त्यसले गर्दा पनि शिक्षकहरूले अनावश्यक दु:ख पाइरहेका छन्। ‘परीक्षा हलमा जो आए पनि हुन्छ, प्रवेश पत्रको सिष्टम छैन। दिनमा हजार-बाह्र सय विद्यार्थीको परीक्षा हुन्छ। परीक्षार्थी नै आयो कि खेताला पठायो कि केही थाहा हुन्न,’ उनले भने।

शिक्षकलाई कुटपिट गर्ने जेठारा पनि आफ्नै परीक्षा दिन आएका हुन् कि अरू कसैको भन्ने पनि खुलेको छैन। ‘परीक्षार्थी नै आएर जाँच दिइरहेको छ कि कसैलाई खेतला पठाइरहेको छ भन्नेसम्म यकिन हुन्न, जात्रा छ,’ उनले परीक्षा व्यवस्थित नभएकोतर्फ संकेत गर्दै भने।

विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको विरोधमा प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघलगायतले विरोध गरेका छन्। यस्तै घटनाको विरोधमा आरआरमै रहेको पत्रकारिता केन्द्रीय विभागअन्तर्गत पत्रकारिता तर्फका केही कक्षा समेतमा बुधबार पठनपाठन भएन।

शिक्षक कुट्ने विद्यार्थी अखिलनिकट शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गर्ने विद्यार्थी कुवेर जेठारा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता हुन्।

यसअघि आरआरमा माधवकुमार नेपाल पक्षधरका विद्यार्थीलाई जेठारानिकट युवाले कुटपिट गरेका थिए। ‘आरआरको स्ववियुमा लामो समयदेखि अनेरास्ववियूको पकड छ। यो घटनालाई कानुनी कारबाही गर्नेभन्दा पनि मिलाउनेतर्फ कुरा अगाडि बढेको छ,’ स्रोतको दाबी छ, ‘शिक्षक कुट्ने विद्यार्थीलाई उन्मुक्ति दिनेतिर लागेका छन्, यसो भयो भने शिक्षक कुटे पनि केही हुन्न भन्ने नजिर बस्छ, राम्रो हुँदैन।’ साभार : सेतोपाटीबाट