माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै

हाम्रो सन्देश संवाददाता

८ पुस, काठमाडौं ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदैछन ।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरु पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ । कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश-२ का नेता पर्सा पुगिसकेका छन ।

प्रदेश २ : माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुख तीन पुगे

नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ ।

माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो ।

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बाेधन गर्न जाँदैछन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए ।