जसपाको सामान्य नेतालाई भित्र्याउन ओलीसहितको शीर्ष टिम किन पुग्यो कपिलवस्तु ?

हाम्रो सन्देश संवाददाता

६ पुस, काठमाडौं ।

अध्यक्ष केपी शर्मा ओलीसहितको एमालेको शीर्ष टिम मंगलबार कपिलवस्तु पुगेको छ । एमाले प्रवेश गरेका जसपाका सामान्य नेता मंगलप्रसाद गुप्तासहितको केही कार्यकर्ताको समूहलाई स्वागत गर्न ओलीसहितको टिम कपिलवस्तु पुगेको हो ।

ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेता कपिलवस्तु पुगेका थिए ।
त्यहाँ उनीहरुलाई गुप्तासँगै अन्य केही जसपाका कार्यकर्तालाई एमाले भित्र्याएका छन् ।

को हुन् मंगलप्रसाद गुप्ता ? लाभ होला त एमालेलाई ?

कांग्रेसको राजनीतिबाट उदाएका मंगलप्रसाद गुप्ता महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा हुँदै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा आएका थिए । २०७० को निर्वाचनमा तमलोपाबाट उठेर हारेपछि उनी तत्कालिन संघीय समाजवादी फोरम प्रवेश गरेका थिए ।

फोरमको केन्द्रीय सदस्य बनेका उनी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचन उम्मेदवार बनेका थिए । तर, निर्वाचनमा कांग्रेसका अभिषेकप्रताप साहसँग नराम्रोसँग पराजित भए ।

पार्टी एकीकरणसँगै केन्द्रीय सदस्य बनेपनि जसपाभित्र उनको खासै महत्व छैन् । तथापी मधेशमा कमजोर देखिएको एमालेले गुप्तालाई निकै महत्वका साथ पार्टीमा भित्र्याएको छ । गुप्तालाई प्रवेश गराएसँगै कपिलवस्तुमा पनि एमाले बलियो बनेको ओलीसहितको पंक्तिको बुझाई छ ।