एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठूलो बुद्ध मूर्तिको शिलान्यास

हाम्रो सन्देश संवाददाता

३ पुस, काठमाडौं ।

एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठूलो ८० फिट उचाइको बुद्ध मूर्ति शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा उक्त बुद्ध मूर्तिको शिलान्यास गरिएको हो ।

रु पाँच करोडको लागतमा बन्ने उक्त मूर्तिको शिलान्यास पूर्वकानुनमन्त्री तथा नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गर्नुभएको हो । ढुङगामा छिनो र हम्मरले हानेर बुद्ध मूर्तिको शिलान्यास गरिएको थियो ।

दुई वर्षभित्रमा मूर्तिको निर्माण सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको छ । मूर्ति निर्माणलगायत वरिपरिको संरचना निर्माणका लागि रु १० करोड लाग्ने छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मूर्ति निर्माणको जिम्मा लिएको छ । मूर्तिलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसका लागि सबैको सहयोग चाहिने प्रतिष्ठानका कुलपति लामाले बताउनुभयो । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तामाङले पाँचपोखरीलाई पुग्ने सम्पत्ति यसै ठाउँबाट कमाउन सकिने बताउनुभयो । “यहाँ पर्यटन प्रवद्र्वन भएपछि यहाँका सामान बिक्नेछन्, नागरिक समृद्व बन्नेछन्”, उहाँले भन्नुभयो ।

ढुङ्गामा मूर्ति कोर्न मात्रै रु दुई करोड लाग्ने गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यसवर्ष मूर्ति कुँद्नका लागि गाउँपालिकाले रु ५२ लाख बजेट विनियोजन गरेको लामाले बताउनुभयो ।

“यस मूर्तिले गाउँपालिका मात्र नभई सिङ्गो नेपालकै प्रतिष्ठा बढाउने छ”, लामाले भन्नुभयोे । मूर्ति वरिपरि कन्फरेन्स हल, रेस्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा वरिपरि सानासाना मूर्ति रहने लामाले जानकारी दिनुभयो । यहाँको संरचना हेर्न आउने व्यक्ति छुट्टै संसारमा पुगेको अनुभूति गराउने लक्ष्य रहेको लामाले बताउनुभयो ।

बुद्ध मूर्तिको निर्माणले विश्वमा शान्तिको सन्देश जाने धर्म गुरु खेम्पो निमा ढिन्डुपले बताउनुभयो । “बुद्ध मूर्तिले विश्वमा शान्ति छाओस् भन्ने कामना गरेको छु”, उहाँले भन्नुभयो ।