ताजा अपडेट : २७२४ मतसहित कांग्रेस सभापतिमा देउवा विजयी !

हाम्रो सन्देश संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् ।

बुधवार बिहान २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् । कुल ४ हजार ५ सय ७४ मत खसेकोमा देउवाले २७२४ र कोइरालाले १८१७ मत प्राप्त गरे ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका थिए । सिंह र निधिको समर्थनले देउवाको जीत सहज भएको हो ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा सभापतिमा विजयी भएका थिए । सभापतिको नजिता आएपछि अब सबैको ध्यान कांग्रेसका अन्य पदाधिकारीतर्फ गएको छ ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि भएको मतगणना बिहीवार बिहानबाट शुरू गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।