ताजा अपडेट : देउवाको अग्रता जारी, २६ सय मतगणना गर्दा कसको कति मत ?

हाम्रो सन्देश संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ ।

२९६३ मतगणना गनिसक्दा देउवाले १७८८ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन् । मतान्तर २९९ रहेको छ । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

रातको १२ बजेपछि राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा राखेर मतगणना भइरहेको छ । रातभरमा मतगणना सम्पन्न भइसक्ने आकलन गरिएको छ ।

अरु पदाधिकारी र सदस्यहरूको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । यसका लागि सोमबार राति नै मतपेटिका सानेपा लगिएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो।

सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।