देउवालाई दशा लागेपछि कसको के लाग्यो !

हाम्रो सन्देश संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

देउवाको विकल्प खोजिरहेका प्रतिनिधिहरुका लागि दोश्रो चरणमा कोइरालालाई समर्थन गर्ने सम्भावना बलियो छ ।

अब केही घण्टा करोडौँको बार्गेनिङ चल्ने छ । त्यसका लागि गृहमन्त्री बालकृष्ण खाड प्रकाशमान सिंहलाई भेट्न चाक्सिबासी पुगिसकेका छन् ।