देउवाले पाएको मतपरिणाम उल्टियो, गलत भएको भन्दै निर्वाचन समितिले गर्यो पत्रकार सम्मेलन !

हाम्रो सन्देश संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको निर्वाचन समितिले १४औं महाधिवेशनको सभापति पदको अन्तिम मत परिणाम घोषणा गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरुको मत हेरफेर गरेको छ ।

सोमबार सकिएको पहिलो चरणको मत गणनामा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गरेन । सबभन्दा धेरै मत पाएका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत पाएका थिए ।

तर सभापतिमा निर्वाचित हुन चाहिने कुल खसेको मत ४६६९ को बहुमत २३४० पुगेन । मतगणना सकिएपछि प्रचार प्रचार समितिका सचिव सुरेश आचार्यले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएको जानकारी दिएका थिए ।

तर निर्वाचन समितिले सार्वजनिक गरेको सभापतिका तीन उम्मेदवारको मत फरक छ । देउवाले पाएको मत २०५८ कायमै रहँदा शेखरको मत घटेर १७०२ कायम भएको छ । प्रकाशमानको भोट ३७१ कायमै छ भने निधिको एक भोट बढेर २५० र कल्याण गुरुङको दुई भोट थपिएर २२ पुगेको छ ।

यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ । ट्याङ्कीमा एक मतचाहिँ बढी कहाँबाट आयो त ? भन्ने प्रश्नमा आचार्यले भने, ‘बदर मत ७७ भनिएकोमा ७६ मात्रै बदर भयो कि ? एक मत कतै गयो होला ।’

नेपाली काँग्रेसको निर्वाचन समितिका तर्फबाट आचार्यले मंगलबार बिहान पढेर सुनाएको मत परिणाम अनुसार सभापति पदमा कुल मतदाता सङ्ख्याभन्दा खसेको मत २३ बढी देखिएको थियो ।

आखिर काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मतपत्र खसाएको पानी ट्याङ्कीमा २३ मत चाहिँ बढी कसरी पर्न गयो त ? यो प्रश्न गर्दा आचार्यले भने, ‘त्यो बढी देखिएको निर्वाचन समितिले सच्याइसक्यो, शेखर कोइरालाको २७ मत घट्यो । विमलेन्द्रजीको एक मत बढ्यो, कल्याण गुरुङको दुई मत बढ्यो । एक मतचाहिँ बदरमा यताउति भयो होला ।’