काठमाडौंबाट गाउँ जाँदै गरेको बस पल्टिँदा एकजनाको मृत्यु, २५ जना घाइते !

हाम्रो सन्देश संवाददाता

२६ मंसिर, काठमाडौं ।

विवाहको जन्ती लिन काठमाडौंबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बिन्जेल गाउँ जाँदै गरेको यात्रुवाहक बस शनिबार साँझ माझगाउँमा पल्टिँदा एकजनाको मृत्यु भएको छ । अरु २५ जना घाइते भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत कोठे बिन्जेल सडकखण्डमा बा २ ख ५६१४ नम्बरको जुगल यातायातको बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बस सडकबाट ७ मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा बसका चालक बलेफी गापा ६ का ३५ वर्षीय लवाङदोर्जे तामाङ (राजु ) छन्। तामाङ आफैं बसका मालिक पनि हुन् । बसमा सवार २६ जनामध्ये टाउकोमा चोट लागेकी एक बलेफी गापा ६ की ६ वर्षीया सुप्रिया भुजेलको अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

‘धुलिखेल अस्पताल नै लगिएका २५ घाइतेमध्ये ८ जना डिस्चार्ज भइसकेका छन्, बाँकीको स्वास्थ्य सुधारोन्मुख भएको पाइएको छ,’ उनले भने । अधिकांश घाइतेको अनुहार, हातमुख, खुट्टामा चोट लागेको छ ।

एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : नेता रावल

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।
नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।

नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।

चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ ।