‘कमल थापालाई पूर्वराजाले हराए, हामीसँग टेप रेकर्डसहित प्रमाण छ’

हाम्रो सन्देश संवाददाता

२५ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना केन्द्रीय सदस्य अभिषेक थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण अध्यक्षमा कमल थापाले हार भोग्नुपरेको बताएका छन्।

मंगलबार दिउँसो नेपालखबरसँगको संवादका क्रममा उनले यस्तो दाबी गरेका हुन्। अध्यक्षमा पराजित थापाले महाधिवेशनभन्दा दुई साताअघि निर्मल निवासमै शाहलाई भेटेर परिआए आफू छाड्न तयार रहेको पनि बताएको उनले खुलासा गरे।

तर त्यसबेला पनि ज्ञानेन्द्रले छाड्नु समाधान होइन भनेको उनले बताए। तर महाधिवेशनमा पूर्वराजाले सचिवालयका मान्छे नै खटाएर हराएको उनले आरोप लगाएका छन्।

‘हामीसँग निर्मल निवासका मान्छे परिचालित भएर कमल थापालाई हराउन गरिएको संवादको टेप रेकर्ड नै छ’, उनले भने, ‘महाराजाधिराजको हुकुम छ कमल थापालाई जिताउन सकिँदैन भन्नेसम्मका संवाद छन्।’

पूर्वराजा शाहले छाडेर समाधान नहुने भनेको पनि उनले बताएका छन्।

‘राजा ज्ञानेन्द्रलाई पनि महाधिवेशनको दुई साताअघि कमल थापाले छाडिदिन्छु भन्नु भएको थियो। सरकारको चाहना हो भने म छाडिदिन्छु भनेकै हो’, उनले भने, ‘तर पूर्वराजाले कमल त्यो सोलुसन होइन, तिमीले छाड्नु हुँदैन भन्नुभएको थियो।’

छाड्छु भन्दा पनि छाड्न नदिएर अन्तिममा निर्मल निवास नै हराउने षडयन्त्रमा लागेको पनि उनले बताएका छन्।

‘उहाँले छाड्छु भन्दा नछाड भन्ने अनि सचिवालयका मान्छे लगाएर हराउन षड्यन्त्र गर्ने? २०६३ को परिवर्तनपछि हामीले ज्यानको माया मारेर पार्टी अघि बढाएका हौँ’, उनले भने, ‘तर दरबारको यो खालको षड्यन्त्र आपत्तिजनक छ। यति हुँदा हुँदै पनि कमल थापाले राजतन्त्रको एजेण्डा छाड्न सक्नु हुन्न।’

उनले नौ महिनाअघि कमल थापाले राजेन्द्र लिङ्देनलाई पनि पार्टी चलाऊ भन्दा तयार नभएको बताए। ‘राजेन्द्र लिङ्देनलाई पनि नौ महिनाअघि पार्टी चलाऊ भनेकै हो’, उनले भने, ‘तर अहिले महाधिवेशन भयो। महाधिवेशनमा उहाँले जित्नु भयो। तर कमल थापालाई षडयन्त्रपूर्वक हराइयो।’

महाधिवेशनमा पराजित भए पनि कमल थापाले पार्टी नफुटाउने उनले बताए। ‘उहाँले पार्टी फुटाउनु हुन्न। अध्यक्षमा जितेका राजेन्द्र लिङ्देनले कसरी समेट्नु हुन्छ, हेर्न बाँकी छ’, उनले भने, ‘तर अहिले कमल थापा पार्टी फुटाउने, नयाँ खोल्ने खेलमा लाग्नु हुन्न। राजतन्त्रप्रति उहाँको प्रतिवद्धता यथावत छ। राप्रपा केन्द्रीय सदस्य अभिषेक थापा। तस्बिर : विक्रम राई/नेपालखबर