ओली शासनबाट मुक्त गरेको छु, यसपल्ट मलाई जिताइदिनुस् : देउवा

हाम्रो सन्देश संवाददाता

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेदेखि जनताले मुक्ति पाएको महसुस गरेको बताएका छन् ।

उनले १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘धेरैकुरा भन्नु छैन, यसपल्ट मलाई जिताइदिनुस् । ओली शासनबाट मुक्त गरेको छु । मैले जितेँ भने तलदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ ।’

प्रधानमन्त्री समेत रहेका देउवाले ओलीको डर र त्रासबाट मुक्त भएको बताउँदै भने, ‘फेरि पनि डरत्रासमुक्त सरकार ल्याएरै छाडिन्छ ।’ पार्टीको सभापतिमा पुन: जिताइदिन उनको भनाई थियो ।

एकीकृत समाजवादी अछामका १० वटै पालिकामा संगठन विस्तार

नेकपा एमालेबाट छुटिएर नयाँ पार्टी स्थापना गरेको नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले अछामका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।

यस्तै जिल्लाका ९१ वटामध्ये ७० वटा वडामा संगठन विस्तार गरेको एकीकृत समाजवादी अछाम जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईले जानकारी दिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ का पाँच पालिका मध्ये साँफेबगर नगर संगठन कमिटीको अध्यक्षमा मुकेश सुनारको अध्यक्षतामा ५२ सदस्सीय नगर कमिटी गठन गरेको छ ।

यस्तै चौरपाटी गाउँ संगठन कमिटीमा रामबहादुर साउदको अध्यक्षतामा १३ सदस्सीय, मेल्लेख गाउँ संगठन कमिटीमा गोकुल शाहको अध्यक्षतामा २१ सदस्यीय, वान्नीगढी जयगढ गाउँ संगठन कमिटीमा तरुण खड्काको अध्यक्षतामा २३ सदस्सीय र रामारोशन गाउँ संगठन कमिटीमा भरत विष्टको अध्यक्षतामा २३ सदस्सीय कमिटी गठन भएको जिल्ला कमिटी अध्यक्ष भट्टराईले जानकारी दिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर २ मा पनि पाँच वटै पालिकाम संगठन विस्तार भएको केन्द्रीय सदस्य अछाम सहइन्चार्ज शंकर भण्डारीले जानकारी दिए । उनका अनुसार मंगलसैन नगर संगठन कमिटीको अध्यक्षमा पूर्ण राना, पन्चदेवल विनायक नगर संगठन कमिटीको अध्यक्षमा ललित बहादुर शाही, कमलबजार नगर संगठन कमिटीको अध्यक्षमा नयाँराम थापा चयन भएका छन् ।

यस्तै तुर्माखाँद गाउँ संगठन कमिटीको अध्यक्षतामा तेजबहादुर शाही र ढकारी गाउँ संगठन कमिटीको अध्यक्षतामा धर्म साउद चयन भएको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ । एकीकृत समाजवादीले जिल्लाका १० वटै पालिकामा प्रथम पालिका सम्मेलन सम्पन्न गरेको छ । बाँकी रहेका वडामा पनि चाँडै संगठन विस्तार हुने जिल्ला कमिटी अध्यक्ष भट्टराईको भनाई रहेको छ ।