देउवाका ज्योतिषले भने- कांग्रेस महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने छ

हाम्रो सन्देश संवाददाता

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले जानकारी दिएका छन् ।

रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उदघाटन गर्न लागिएको छ ।

पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको रिजालले जानकारी दिए ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलनः नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरू भएको छ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेतृत्वका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन २५ र २६ मंसिरमा दाङको भालुवाङमा हुँदै छ । लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव जमाएका केन्द्रीय नेताहरू वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनी प्रदेश अध्यक्षमा दिपेन्द्र पुनलाई ल्याउन चाहेको कार्यकर्तामाझ चर्चा छ । तर, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भने दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन चाहेको माओवादी प्रदेश कमिटीका एक सदस्यले बताए ।

तर पार्टी केन्द्रले भने दुई पक्ष लड्दा विवाद चर्कने भन्दै कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई प्रदेश कमिटी अध्यक्षमा ल्याउने गरी छलफल थालेको छ । ‘पुन र शर्मालाई केन्द्रीय नेताले बोक्दा दुईथरी गुट सक्रिय भएदेखि नै पार्टी केन्द्रले सहमतिका लागि तेस्रो विकल्पमा पनि छलफल अगाडि बढाएको पाएका छौं,’ ती नेताले भने ।

पार्टीले निर्णय गरेर पठाए आफू प्रदेशको नेतृत्व सम्हाल्न तयार रहेको उपाध्यायले बताए । ‘केन्द्रीय कार्यालयमा रहे पनि पार्टीले निर्णय गरेर पठाउँछ भने म जिम्मेवारी लिन तयार छु,’ उनले भने ।

अर्की दाबेदार दामा शर्माले माओवादीमा महिला सहभागिता धेरै भएको भन्दै नेतृत्वमा पनि यही प्रकारको सहभागिता रहने विश्वास व्यक्त गरिन् । आफूले केन्द्रमा पाएमा भने इच्छा नगर्ने उनको भनाइ छ । माओवादीको प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी रहने विधानमा व्यवस्था छ ।

लुम्बिनीबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरि घर्ती, कुलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव क्षेत्री, सुदर्शन बराललगायतका नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।

लुम्बिनी प्रदेश कमिटी इन्चार्जमा माओवादी स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेव छन् । प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चाहेका नेताहरू प्रदेशको नेतृत्वका लागि ईच्छुक देखिएका छन् । माओवादीको विधानअनुसार अब प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउँदैनन् । सम्मेलनमा १०९ वटै पालिकाबाट भौगोलिक उपस्थिति हुने प्रचारप्रसार संयोजक जीवन गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ । २०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन् ।

२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुला रूपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको छ ।