हेलिकप्टर दुर्घटना अपडेट : भारतीय रक्षा प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ को मृत्यु

हाम्रो सन्देश संवाददाता

२२ मंसिर, काठमाडौं ।

भारतको तमिलनाडु क्षेत्रमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको मृत्यु भएको छ।

भारतीय सेनाका पूर्व प्रमुख तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत सहित १४ जना सवार हेलिकप्टर आज दिउँसो दुघर्टनामा परेको थियो।

समाचार संस्था एएनआईका अनुसार हालसम्म १३ को मृत्यु भइसक्दा पनि रक्षा प्रमुखको अवस्थाको बारेमा केही जनाइएको छैन।

सो विमानमा रावतकी श्रीमती र अन्य शीर्ष सैन्य अधिकारीहरु पनि थिए। घटनाको बारेमा भोलि मात्र संसदमा जानकारी दिइने भारतीय संचारमाध्यमको भनाइ छ।

केहीबेर अगाडि मात्र भारतीय रक्षामन्त्री राजना सिंह रक्षा प्रमुख रावतको घरमा गएको बीबीसीहिन्दीले जनाएको छ।

भारतीय सेनाको एमआई–सिरिज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको हो।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको बताइएको छ। रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो।

जनरल विपिन रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पदमा थिए। उनले १ जनवरी २०२० मा चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका थिए।