डाँडोमा चढेर प्रचण्डले भने – एमालेका मधेशी नेताहरु कुकुरको पुच्छर !

हाम्रो सन्देश संवाददाता

१८ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।

उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको उल्लेख गरे।

पार्टी मुख्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको समेत बताए।

त्यस अवसरमा उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहितको कुरामा आफूले संविधान संसोधनको प्रस्ताव राख्दा एमालेभित्र केपी गुटले नमान्दा संसोधन हुन नसकेको कुरो पनि उल्लेख गरे।

अध्यक्ष दाहालले नेकपा एमाले जनजातिको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचान विरोधी रहेको आरोप लगाए। एनले भने ‘माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागेका थिए।

माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्नेछन्।’ अध्यक्ष दाहालले देशभर अहिले झन्डै ८ लाख सदस्यले नेकपा माओवादी केन्द्रमा सदस्यता नवीकरण गरिसकेको भन्दै केही समय मिलेमा उक्त संख्या १० लाख पुग्ने दाबी समेत गरे।