युरोप जान इरानको बाटो : मानव तस्करीको टर्की ‘कनेक्सन’

हाम्रो सन्देश संवाददाता

बार्सिलोना ।

चार महीना अघिको कुरा हो, टर्कीको इस्तानबुलमा मानव तस्करहरूले नेपाली सहित सात जनालाई एउटा घरभित्र बन्धक बनाए । उनीहरूले टाउकोमा बन्दूक राखेर पैसा र मोबाइल मात्रै लुटेनन्, बन्धक बनाइएका व्यक्तिका परिवारसँग फिरौती रकम समेत मागे । बन्धक बनाइएकाहरूलाई ‘आफूहरू गन्तव्यमा पुगिसकेको’ भन्न लगाएर ‘परिवारलाई पैसा दिन भनिएको’ भिडियो समेत सार्वजनिक भयो ।

युरोप छिर्ने उपाय खोज्दै अवैध रूपमा टर्कीदेखि ग्रीस जान लागेका ती सात नेपालीलाई पाकिस्तानी मानव तस्करहरूले बन्धक बनाएका थिए । डर र धम्की दिएर रेकर्ड गरिएको उक्त भिडियोमा ६ जना नेपाली सहित एक अफ्रिकी मूलका नागरिक थिए । ६ नेपालीमा चार युवती र दुई युवक थिए । भिडियोलाई राम्ररी नियाल्ने हो भने उनीहरू त्रसित हुँदै बोलेको थाहा हुन्छ । तस्करहरूले उनीहरूसँग जनही दुई हजार युरो मागेका थिए ।

तर पाकिस्तानी र नेपाली एजेण्टका बीचमा पैसा लेनदेनमा कुरा नमिलेपछि यो कुरा टर्कीको प्रहरी विभाग सार्वजनिक सुरक्षा ब्यूरोमा पुग्यो । लगत्तै प्रहरीले ‘अपरेसन’ गर्‍यो । बन्धक बनाइएका नेपालीलाई उद्धार गरियो । चार जना पाकिस्तानी मानव तस्करलाई प्रहरीले समात्यो ।

यो खबर टर्कीको दैनिक पत्रिका ‘सोजू’ ले ‘इस्तानबुलमा बन्धकहरूको उद्धार अभियान’ शीर्षकमा २३ असार २०७८ (६ जुलाई २०२१) मा प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि मात्रै घटना सम्बन्धी सम्पूर्ण विवरण बाहिर आएका हुन् ।

‘जबरजस्ती थुनामा राखेको र बन्धक बनाएको अभियोगमा उनीहरूसँग बयान लिएपछि न्यायिक कारबाही अघि बढाइएको’ पत्रिकाको समाचारमा उल्लेख छ । समाचारमा पीडित नेपाली लगायत घटनामा संलग्न व्यक्तिहरूको पहिचान समेत खुलाइएको छ ।

चितवन पार्वतीपुर–८ का २६ वर्षीय सरोजकुमार श्रेष्ठ टर्की आइपुगेको चार वर्ष भयो । पहिले उनलाई टर्की नै युरोप हो भन्ने लाग्थ्यो । पोखरा घर भएका सुजन बञ्जरा भाटलाई साढे ४ लाख रुपैयाँ बुझाएर आफू टर्की आएको उनको भनाइ छ । ‘शुरूमा युरोप भनेर नै यहाँ आइयो । कार्ड बन्छ परिवार ल्याउन पाइन्छ भनेर दलालले अनेक सपना देखाए, त्यसैमा विश्वास गरियो, फसियो’, उनले भने ।

उनी टर्की छिर्दा पाँच दिनको मात्रै भिसा थियो । त्यहाँ पुगेपछि कार्ड बन्छ भनिएको थियो । उनले कार्ड ‘एप्लाई’ गरे तर बनेन । चार वर्षदेखि उनी गैरकानूनी रूपमा टर्कीमा बस्दै आएका छन् । नेपालदेखि सँगै आएको साथी जोखिम मोलेर फ्रान्स पुगिसकेको बताउँदै उनले भने, ‘म चाहिं युरोप छिर्न नसकेर यहीं बसें । लुकेर काम गरेर भए पनि जेनतेन जीवन चलिरहेको छ ।’

दुई वर्षअघि युरोप छिर्न गरेको दुःख सम्झँदै उनी भन्छन्, ‘अगाडि बढ्ने भनेर मैले दलाललाई साढे ६ लाख रुपैयाँ बुझाएँ । युरोप छिर्न भनेर ग्रीससम्म पुगेको थिएँ । पुलिसले समातेर फेरि टर्की नै फिर्ता पठाइदियो ।’ नेपालदेखि टर्की र टर्कीदेखि युरोप जाने चक्करमा अहिलेसम्म उनले साढे १० लाख रुपैयाँ गुमाइसकेका छन् ।

उनले केही दिन जेल समेत बस्नु पर्‍यो । ‘ग्रीससम्म लिएर जाने पाकिस्तानी एजेन्टलाई पैसाको मामिलामा अर्को पाकिस्तानीले अपहरण गरेर राखेको रहेछ । हामी पनि त्यहीं बस्थ्यौं’ उनले भने, ‘पुलिसले छापा मार्दा हामी पनि समातियौं । पछि अदालतबाट सफाइ पायौं ।’ आफू जस्ता दुई हजार जति नेपाली टर्कीमा रहेको बताउने उनी अब तीन महीनामा नेपाल फर्कने तयारीमा छन् ।

नेपालीलाई टर्कीमा बन्धक बनाएपछि परिवारले पाकिस्तानमा फिरौती रकम बुझाएका घटना समेत छन् । चार वर्षअघि टर्कीमा तीन नेपाली युवालाई अपहरण गरेपछि परिवारले करीब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि मात्रै उनीहरू छुटेका थिए ।