ओलीको चेतावनी : एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं !

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताए ।

संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको आरोप लगाए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनको आरोप छ ।

संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो । एमालेले कारबाही गरेका सांसदलाई संसदमा राखिएकोमा एमालेले आपत्ति जनाउँदै आएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी
नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) हुनुहुन्छ ।

यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) हुनुहुन्छ । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा हुनुहुन्छ । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागार्इँ र सर्मथकमा कुन्दनराज काफ्ले हुनुहुन्छ ।

उहाँहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेस बागमती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ आज उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराउनु जानुभएको थियो ।

बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौँ), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौँ) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हनुुहुन्छ । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनुहुनेछ ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत हुनुहुन्छ । निर्वाचनअन्तर्गत यही मङ्सिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।